बालगृह वा अनाथालय:अहिलेको फस्टाउदो ब्यापार

बालगृह वा अनाथालय:अहिलेको फस्टाउदो ब्यापार

२०७२ बैशाख १२ गतेको भूकम्प गएको केहि दिन पछी २ जना साना भियतनामी बालबालिकाको तस्बिर बिभिन्न सामाजिक संजाल र समाचारहरुमा छायो जसमा ३/४ बर्षको जस्तो देखिने बालकले उ भन्दा सानो बालिकालाइ अंगालोमा बाँधेर संरक्षण प्रदान गरेको थियो | उक्त तस्बिरको प्रयोग गरि केहि व्यक्ति तथा संस्थाहरुले उनीहरु र त्यस्तै अनाथ बालबालिकाको संरक्षण गर्न भन्दै देश तथा बिदेशमा सहयोग संकलन गरेको देखियो | यस्ता बालबालिकाको संरक्षण र शिक्षादिक्षा प्रदान गर्ने भनेर बिभिन्न धार्मिक संस्थादेखि लिएर अन्य गैरसरकारी निकायहरु पनि अघि आए | यसरी जोखिममा परेका बालबालिकालाइ संरक्षण प्रदान गर्नु पक्कै नराम्रो काम होइन तर अभिभाबक हुदाहुदै पनि अनाथ भनेर बालबालिकालाइ उनीहरुको परिवारबाट छुट्याएर र उनीहरुको प्रयोग गरेर भैरहेको वा हुनसक्ने ब्यापारलाइ नजर अन्दाज गरिनु हाम्रो समाजको लागि घातक हुनेछ |

नेपालमा १० वर्ष सम्म चलेको द्वन्द सँग संगै बालगृह तथा अनाथालयको संख्यामा उल्लेखनीय वृद्धि भयो | द्वन्दबाट बिस्थापित तथा द्वन्दमा परिवार गुमाएका बालबालिकालाइ संरक्षण प्रदान गर्ने नाममा सयौका संख्यामा बैधानिक तथा अबैधानिक रुपमा यस्ता संस्थाहरु संचालनमा आए |  द्वन्द्को  समाप्ति पछी पनि यो प्रक्रिया रोकिएको छैन | देशका बिभिन्न दुर्गम जिल्लाहरुबाट बालबालिकालाई बोर्डिंग स्कुलमा राखेर पढाइदिने बहानमा परिवारबाट मोटो रकम लिने र अभिभाबक नभएको नक्कली कागजात तयार पारेर यस्ता निकायमा बालबालिकाको ओसारपसार गर्ने प्रक्रियामा अहिले पनि कुनै कमि आएको छैन | यसको पछाडीको एउटा मुख्य कारण हो बालबालिकाको प्रयोग गरेर नाफा आर्जन गर्नु |

केन्द्रीय बालकल्याण समितिले २०१५ मा प्रकाशन गरेको एक प्रतिबेदनका अनुसार हाल नेपालमा ५७७ बालगृहहरु रहेका छन् जसमा १६,४०० जना बालबालिका आश्रित रहेका छन | बालबालिकाको क्षेत्रमा काम गर्ने एक गैरसरकारी संस्थाको अनुसार यस्ता बालगृह वा अनाथालयमा बस्ने बालबालिका मध्ये ७५ प्रतिशत भन्दा बढी बालबालिकाको अभिभाबक रहेकाछन् | हाल नेपालमा संचालित ५७७ बालगृह वा अनाथालयहरु मध्ये ४४२ वटा यस्ता संस्थाहरु पर्यटकबढी आउने ५ जिल्लाहरु काठमाडौँ (२०१), ललितपुर (१३०), भक्तपुर (२२), कास्की (५९), र चितवन (३०) मा रहेका छन् | यसको पछाडिको एउटा मुख्य कारण भनेको बिदेशी पर्यटकबाट आर्थिक लाभ आर्जन गर्नु |

नेपाल घुम्न आउने धेरै जसो पर्यटक यहाका मानिसको सेवा, सत्कार, आत्मियता र प्राकृतिक सौन्दर्यता देखेर पुलकित हुन्छन र त्यसको सट्टामा केहि दिन चाहन्छन | केहि सहयोग गर्न चाहान्छन | यस्तैमा उनीहरुको नजर यस्ता संस्थाहरुमा पर्छ जो अनाथ बालबालिकाको संरक्षणमा काम गरेको दावी गर्छन र सहयोगको लागि याचना गर्छन | यसै गरि केहि पर्यटक नेपाल आउछन उनीहरु आफ्नो भ्रमणमा स्वयम्सेवाको माध्यमबाट अलिकति सामाजिकता पनि थप्न चाहन्छन | यस्ता बालगृह तथा आनाथालयले त्यस्ता पर्यटकबाट सेवा शुल्कको नाममा मोटो रकम  लिएर आफ्ना बालगृह तथा अनाथालयमा स्वयमसेवा गर्ने अवसर प्रदान गर्छन | यसरि स्वयमसेवा गर्ने मध्येका केहि पर्यटक आफ्नो देश फर्की सकेपछी पनि ती बालबालिकाको सहयोगको लागि भन्दै व्यक्तिगत तथा सामुहिक रुपमा पैसा संकलन गर्छन र त्यस्ता संस्थाहरुमा पठाउने गर्छन | कतिपय अवस्थामा त बालबालिकालाइ कुपोषित तुल्याएर उनीहरुको दयानीय अवस्थालाइ प्रदर्शन गरि बिदेशी पर्यटकबाट पैसा संकलन गर्नपनि पछी पर्दैनन् | यसरि आएको सहयोगको केहि प्रतिशत बालबालिका सम्म पुग्छ भने बाँकि सहयोग त्यस्तो संस्था संचालकको खल्तीमा पुग्छ | 

यसरी नेपाल आउने पर्यटकमा सबै पर्यटक सहयोगी हुन्छन भन्ने पनि छैन | कतिपय पर्यटक सम्बन्धित देशमा बाल दुर्ब्यबहार तथा अपराधको आरोप लागेका तथा सजाय भोगेर नेपाल आएकापनि हुने गर्छन | कतिपय पर्यटक बाल शोषण वा दुर्ब्यबहार गर्न सजिलो हुने वा यहाँको फितलो कानुनको फाइदा उठाउनपनि नेपाल आउने गर्छण | उनीहरुकोलागि यस्ता बालगृह उपयुक्त स्थान हुन् जहाँ उनीहरु आफुले चाहेको बालबालिकामाथि बिना रोकतोक दुर्ब्यबहार गर्न पाउछन | उनीहरुलाई बालगृह भित्रै वा होटल लगायत स्थानमा लगेर दुर्ब्यबहार गरेका समाचारपनि आजभोलि प्रसस्तै सुनिन्छ | यसरि हुने दुर्ब्यबहारका केहि घटना मात्रै बाहिर आउने गर्छन अन्यथा पुन मोटो रकम लिएर यस्ता संचालकहरु घटनालाइ आन्तरिक रुपमानै साम्य पार्न कोसिस गर्नेछन् | कुनै पनि पश्चिमा मुलुकका बालगृहमा जो कोहिलाइ छिर्न समेत बन्देज लगाएको हुन्छ, उनीहरुको व्यक्तिगत विवरणको पूर्ण जानकारी लिएर र बालबालिकाको क्षेत्रमा बिशेस अनुभब/सिप भएका मानिसलाइ मात्र त्यस्ता स्थानमा स्वयम्सेवा गर्न अनुमति प्रदान गर्छन |  तर हाम्रो देशमा यस सम्बन्धि कुनै ध्यान दिएको छैन, त्यसमा पनि गोरो छाला भएको देख्ने बित्तिकै हामि उसलाई पूर्ण बिश्वास गर्छौ र बिना रोकतोक गर्बका साथ निमन्त्रणा दिन्छौ |

बैशाख १२ गते आएको भूकम्पपछी बालबालिकालाइ जिल्ला बाहिर स्थान्तरण गर्न नपाउने, नया बालगृह दर्ता गर्न नपाउने, अन्तरदेशीय धर्म सन्तान ग्रहण गर्न नपाउने जस्ता केहि उल्लेखनीय निर्देशन नेपाल सरकारले जारी गर्यो जसले बालबालिकाको अनाधिकृत ओसारपसार रोक्न ठुलो भूमिका खेल्यो | यदि यस्ता निर्देशन जारी नगरिएर कडाइ नगरिएको भए आज धेरै बालबालिका उद्धारको नाममा बेपत्ता हुने थिए | अभिभाबक हुदाहुदै पनि अनाथ कहलिन्थे र सहरको कुनै एउटा संस्थामा आफ्नो जिबन बिताई रहेका हुनेथिए | यसरि बालबालिकाको बिषयमा निर्णय गर्दा बालबालिकालाइ परिवारबाट अलग्याउन नहुने सिदान्तलाइ ध्यानमा राखेर नेपाल सरकारले बालबालिका ओसारपसारमा लगाएको रोक दुरदर्शी मान्नु पर्दछ |

हाम्रो नेपाली समाजमा परिवारको महत्व अन्य पश्चिमी समाजमा भन्दा बढी छ | हामी हाम्रो परिवारमानै रमाउछौ | हाम्रा हजुरबुवा हजुरआमाका दन्त्यकथा सुन्दै हुर्कन्छौ | हामी भित्र त्यस्तो आत्मियता छ जसले सबैलाई छुने गर्दछ | यसरी शिक्षा, स्वास्थ्य वा सुरक्षित स्थान प्रदान गर्ने नाममा बालबालिकालाई उनीहरुको परिवारबाट छुट्याएर कुनै संस्थामा राख्दा बालबालिकालाइ पर्न जाने मानसिक असर अत्यन्त भयावह हुन्छ | त्यस माथि यस्ता संस्थामा स्वयमसेवाका नाममा आउने पर्यटकले केहि दिन माया दिने र पुन त्यो माया बाट बन्चित हुनु पर्ने अवस्थाले बालबालिकामा भावनात्मक र व्यक्तिगत बिकासमा नकारात्मक असर पार्दछ | त्यसरीनै यस्ता संस्थाहरुमा कतिपय अवस्थामा सहपाठी, संचालक र स्वयमसेवकबाटनै हुने दुर्ब्यबहारले बालबालिकामा पर्ने प्रभाबको हामी कल्पना सम्मपनि गर्न सक्दैनौ |

प्रश्न उठ्न सक्छ, अभिभाबक गुमाएका वा अति जोखिममा परेको बालबालिकालाइ यस्ता संस्थामा राख्नु गलत हो ? वा उनीहरुलाई कहाँ राख्ने ? यदि बालबालिकाको अभिभाबक छन भने कुनै पनि बहानामा उनीहरुलाई अलग्याउनु गलत हो | यदि कुनै संघसंस्थाले उनीहरुलाई शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा सहयोग गर्न चाहन्छ भने परिवारमानै राखेर गर्नु पर्छ | अभिभाबक नभएको अवस्थामापनि सम्भब हुन्छ भने उसको नजिकको आफन्तसंग बालबालिकालाइ राख्नु पर्दछ |  यदि कुनै बालबालिकालाइ उसैको परिवार वा समुदायममा राख्ने नसकिने अवस्थामा मात्र उनीहरुलाई बालगृह वा अनाथालयमा राख्नु पर्दछ, तर यस्ता संस्थाले त्यहाँ आश्रित बालबालिकालाइ पूर्णतया पारिवारिक बातावरण सँग संगै नेपालि रितिरिवाज, चालचलनको जानकारी प्रदान गर्नु पर्दछ ता कि त्यो बालबालिका भोलि यहि समाजमा मिल्न सकोस र आफ्नो दैनिक गुजारा चलाउन सक्षम होस् | देशमा राजनीतिक परिवर्तन संगै केहि बालगृह तथा अनाथालयको माध्यमबाट धर्म परिवर्तन गराउने जस्ता कार्य गरेकोपनि सुनिन आएको छ जुन पूर्णतया अमानविय कार्य हो |

भूकम्पपछी उनीहरुको उद्धारको नाममा अझै पनि केहि व्यक्ति तथा संस्थाहरु त्यस्ता बालबालिकालै आफन्तबाट अलग्याएर आफ्ना संस्थामा राख्न लालायित देखिन्छन | सरकारले बालबालिकालाइ सम्बन्धित जिल्लाबाट उद्धार गरि संस्थामा ल्याउन नदिएको र अझबढी जोखिममा पारेको आरोपपनि सुनिन्छ | झट्ट सुन्दा जोखिममा रहेका बालबालिकालाइ उद्धार गरि कुनै बालगृह वा आनाथालयमा राखेर शिक्षा, स्वास्थ्य र आवास प्रदान गर्नु राम्रो देखिएता पनि यसले कालान्तरमा बालबालिकामा पार्ने प्रभाब र उनीहरु माथिहुने ब्यापार खतरनाक हुन्छ |


कुनैपनि विकल्प नभएको अवस्थामा अन्तिम स्थानको रुपमा बालगृह वा अनाथालयलाइ प्रयोग गर्नु पर्दछ | यस्ता स्थानहरुमा पारिवारिक बातावरण निर्माण गर्नु अत्यन्त जरुरि हुन्छ | बालबालिकाको क्षेत्रमा कामै नगरेको वा नेपाली संस्कार नबुझेको जो कोहिलाइ यस्ता स्थानमा सेवा गर्न पूर्ण बन्देज लाउनु पर्छ | नेपालको कानुनले पनि पर्यटकको रुपमा आएको कुनै पनि मानिसलाइ आर्थिक उपार्जन गर्ने वा नगर्ने जुन सुकै काममा पनि बन्देज लगाएको छ | तसर्थ बालबालिका हाम्रा भबिष्य हुन उनीहरुलाई नाफा आर्जन गर्ने साधन बनाइनु हुदैन | 

यो लेख २०७२ फाल्गुन १६ गते हिमालय मेलमा प्रकाशित 'बालबालिकाको नाममा हुने ब्यापार' शिर्षकमा प्रकाशित भएको थियो http://himalayamail.com/view/730 )

0 Response to "बालगृह वा अनाथालय:अहिलेको फस्टाउदो ब्यापार"

Post a Comment

Recent Posts

Iklan Tengah Artikel 1

Iklan Tengah Artikel 2

Iklan Bawah Artikel